साइकले रक्तदाता अवस्थी

चैत्र १३ गते, लकडाउनको तेस्रो दिन । उनी खाना खाएर सुत्ने तर्खरमा थिए । राति १० बजे फोन आयो उनलाई । जन्मेर चार दिन भएको बच्चालाई जन्डिस भएकाले तुरुन्तै दुई युनिट बी नेगेटिब ब्लड चढाउनु पर्ने भयो । लकडाउनले सुनसान थियो पोखरा । दुई जना डोनर खोजेर उनी सिधै हानिए पश्चिमाञ्चल अस्पताल । बच्चाको सकुशल उपचार भयो । त्यसको अघिल्लो दिन मात्र कञ्चनपुर घर भएकी एक जना महिलाको डेलिभरी केसको लागि पाटन अस्पतालबाट बिरामीको आफन्तले उनलाई फोन गरे । उनलाई पनि चाहिँएको थियो दुई पिन्ट बी नेगेटिभ ब्लड । यता बेनीकी मिना पुनको अपरेशनको लागि चाहिने ओ पोजेटिभ ब्लडका लागि आफन्तले उनलाई नै सम्झेें । कोरोना सन्त्रासले नेपाल नै ‘लकडाउन’ भएको समयमा रगतको लागि दैनिक नै १०÷१५ कल आइरहन्छन् उनलाई । उनलाई भ्याइनभ्याइ हुन्छ, कुनै जागिरे जसरी । कहिले आफै रक्तदान गर्छन् । यताउता फोन घुमाउँछन् । अनि ब्लड डोनर खोज्छन् । चाहे त्यो पोखरा होस् वा काठमाडौं, चितवन । उनले रगत व्यवस्था गराएरै छाड्छन् । हो, पोखरामा मात्र नभई नेपालभर नै रक्त व्यवस्थापनमा अहोरात्र खटिने उनै हुन्, ओ पोजेटिभ तीर्थ राज अवस्थी ।




चीनको युुवान प्रान्तबाट फैलिएको कोरोना भाइरस (कोभिड –१९) ले अहिले सिंगो संसार त्रसित बनेको छ । यसले विश्व अर्थतन्त्रमा पु¥याएको असरको त कुनै लेखाजोखा नै छ्रैन । शैक्षिक संस्थाहरु बन्दा छन्, सडक, कलकारखाना, उद्योगधन्दा ठप्प छन् अहिले । पोखरामा मात्र नभई नेपालभर नै खड्किएको अर्को मुख्य समस्या हो, रक्त अभाव । क्षेत्रीय रक्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवलीका अनुसार पोखरामा मात्रै अहिले दैनिक ७० युनिट रगतकको खपत हुन्छ र लकडाउन लम्बिए नेपालमै रक्त अभाव हुने सम्भावना देखिन्छ ।





यस्तो संकटको बेलामा बिरामीको ज्यान जोगाउँदै हिड्ने उनै अवस्थीले अहिले सम्म ६० औं पटक रक्तदान मात्र गरेका छैनन्, हजारौं बिरामीहरुलाई रगत व्यवस्थापन गरिसकेका छन् । रगतसँगको यति घनिष्ट सम्बन्ध कसरी बन्यो भन्दा १२ वर्ष अघिको घटना सम्झदैँ उनले भनेँ, ‘त्यतिबेला म फार्मेसी अध्ययनको शिलशिलामा काठमाडौंमा बस्थे । मेरो एक जना दाईको भक्तपुर क्यान्सर अस्पतालमा क्यान्सरको उपचार हुँदै थियो । दाईलाई दुई पिन्ट बी पोजेटिभ रगत चाहिँएको थियो । रगतको खोजीमा म ठाउँठाउँ भौतारिए । कलेज गेटको पर्खालमा होस् वा बसको ढोका अनि क्यान्टिनको भित्तामा, फलानो अस्पतालमा फलानो मान्छेलाई रगत चाहियो भनेर लेखेर टाँसे । त्यतिबेला मोबाइल फोनको सुविधा थिएन । पुछारमा घरबेटीको ल्यान्डलाइन नम्बर पनि छोडिदिन्थे । पछि रगत त भेटियो तर दाईलाई हामीले बचाउन सकेनौं ।’ त्यही दिनदेखि उनले संकल्प गरेका रहेछन्, रगतको अभावमा कोही छट्पटिन नपरोस् ।

पछि जागिरको शिलशिलामा उनी पोखरा आएँ । रक्त व्यवस्थापन अझ सहज होस् भनेर पोखरामा पनि नेपाली स्वयंसेवी रक्तदाता समाजको स्थापना गरियो । त्यसैको संस्थापक अध्यक्ष बने अवस्थी । अहिले कुनै अस्पतालमा रक्त अभाव होस् वा ब्लड ब्यांकमा, सबै उनलाई नै सम्झन्छन् । रक्तदान बारे अझै आम मानिसहरुको चेतनाको स्तर देख्दा उनलाई दुःख लाग्छ । ‘रक्तदान गरिए कमजोर भइन्छ, विभिन्न रोगहरु लाग्छन्, प्रतिरोधात्मक क्षमता घट्छ भन्ने आम मानिसहरुको बुझाइ अझै कायमै छ,’ उनले भने, ‘१८ वर्ष पुगेका हरेक स्वस्थ मानिसले हरेक ३÷३ महिनामा रक्तदान गर्न सक्छन् । यस अर्थमा पनि हामी सबैको घर नै ब्लड ब्यांक हो । नेपालमा रगतको अभाव नभई व्यवस्थापनको पाटो कमजोर छ ।’



दिन रात रगत व्यवस्था गर्दा न उनलाई कुनै पैसा मिल्छ न भत्ता । बरु उल्टै यसका लागि उनको व्यक्तिगत खर्च लाग्ने बताउँदै उनले भने, ‘दिनमै २०÷३० पल्ट फोन गर्नु पर्ने हुन्छ । कति समय खर्चिन्छ, त्यसको लेखाजोखा गर्ने कुरा नै भएन तर यसबाट जुन सन्तुष्टि मिल्छ नि त्यो कुनै कुरासँग तुलना गर्न सकिदैन÷मिल्दैन । आफैँले रगत व्यवस्था गरिदिएर निको भएको बिरामी घर फर्कदा मुहारमा जुन हाँसो झल्किन्छ, त्यो हाँसोको मुल्य अमुल्यवान रहन्छ ।’

उनले एउटा घटनालाई सम्झिदै भने, मनिपालमा एक जना दमौलीको बिरामीलाई रगत चाहिएको थियो । दसैं ताका नै थियो, सबै आ–आफ्ना घर गइसकेकाले पोखरामा रगतको अभाव थियो । घर जान तयार भएको म झोला सबै थन्काएर रगत व्यवस्था गर्नतिर लागे । भाग्यवश रगत व्यवस्था भएर बिरामी निको पनि भयो । डिस्चार्ज भएर घर फर्कन लाग्दा बिरामीको आफन्तले मलाई भेटेर एउटा खाम हातमा थमाइदिएँ । त्यसभित्र थियो नगद रु. पचास हजार । मैले त्यो पैसा इन्कार गर्दै उनलाई भने, ‘अंकल, मैले यो सब पैसाको लागि गरेको हैन । यदि तपाई भोलिबाट मलाई खुसी देख्न चाहनुहुन्छ भने कृपया यो पैसा फिर्ता लिनुहोला ।’ चियाको चुस्की सँगै उनले भने, मैले पैसा लिन थाले भने यो त सरासर रगतको व्यापार हुन्छ ।








यहाँ अहिले खुलेआम रक्त व्यापार त सम्बन्धित निकायहरुले नै गरेका छन् । सरकारी अस्पतालमा सात सय पर्ने त्यही रगत बिरामीले निजी अस्पतालमा हजार, दुई हजार तिर्नु पर्ने बाध्यता रहेको छ । यो त सरासर व्यापार हो नि रगतको । सरकारबाट रगत सित्तैमा व्यवस्था गरिनु पर्ने बताउँदै उनले भने, ‘व्यापार नै गर्ने हो भने त्यस्ता संस्थाले अर्कै ठाउँमा हात हाले हुन्छ तर रगतको नाउँमा कदापि व्यापार गर्न पाइँदैन । रगत माथिको धन्दा गैरकानुनी हो ।’ उनको एउटै सपना छ, नेपालकै पहिलो खुला दिसामुक्त क्षेत्र घोषणा गरिएझैँ कास्कीलाई पहिलो रक्त अभाव मुक्त क्षेत्र घोषण गरियोस् । रगतको अभावमा कुनै नेपालीको ज्यान जानु हुँदैन ।



यस्तै सपनाहरु बोक्दै साइकलमा ठाउँठाउँ कुद्छन् उनी । कालो चस्मा, रातो हेल्मेट, साइकलको जर्सी अनि हाफ पाइन्ट । यही हुलियामा ‘स्कट’ ब्रान्डको साइकलमा पोखरा वरपरका डाँडाकाडामा भेटिन्छ उनलाई । ‘इफ साइकलिङ इज माइँ प्यासन, ब्लड डोनेसन इच माइँ रिलिजन’ यहीँ मुल मन्त्रलाई शिरोपर गर्दै उनले साइकलमा नेपालका धेरै ठाउँहरु मात्र घुमेनन्, सँगै रक्तदानको सन्देश आम मानिसहरुलाई बाड्दै हिँडे । जुन कार्य अझै निरन्तर नै गरिरहेका छन् उनले । रगत प्रतिको उनको डेडिकेशन दाहिने हातमा खोपिएको ‘डोनेट ब्लड’ ट्याटुबाट प्रस्ट बुझिन्छ । मानिसहरु कोही आफ्ना प्रेमीप्रेमिकाका नाम खोप्छन्, कोही जीव जनावरको अनि फुलको । यसबाट पनि आम मानिसहरुमा एउटा राम्रो म्यासेज दिन सकिन्छ भनेर नै मैले यस ट्याटु खोपे, गफैगाफमा उनले भने ।





सन् २००५ डिसेम्बर ३१ तारिख । उनका लागि त्यो दिन विशेष लाग्छ । उनी परे विश्व साइकलयात्री पुष्कर शाहको डाइहार्ट फ्यान । कौशलटारमा पहिलो पल्ट उनैसँग भेट भएछ अवस्थीको । ‘हाई हेल्लोबाट सुरु भएको हाम्रो गफगाफ समयसगैँ बाक्लिदैँ गयो । एकदिन म बन्दीपुरको उकालो साइकलमा चढ्दै गर्दा पुष्कर शाहको ट्याटु पिडौलामा खोप्ने अचम्मको सोच आयो । पोखरा पुगेपछि दाईसँग अटोग्राफ मगाएँ,’ दाहिने खुट्टाको पिडौलामा खोपेंको ट्याटु देखाउँदै मुसुक्क मुस्कुराए उनी ।



कञ्चनपुर, पुनरबास नगरपालिकामा जन्मेका उनले नोबल कलेज अफ मेडिकल साइन्स काठमाडौंमा डिप्लोमा इन फार्मेसी पढें । त्यसपछि सन् २०१० मा जागिरका लागि उनलाई सिफारिस गरियो पोखराको मनिपाल अस्पतालमा । त्यहीबाट साइकल प्रतिको मोहको सुरुवाती दिन उनले यसरी सम्झेँ, ‘वर्ष दिन भइसक्दा पनि पोखरा घुम्न फुर्सद मिलेको थिएन । मेरो जागिरको कमाईले बाइक किन्न सक्ने अवस्था थिएन । एक साझ चालिसे साइकल पसलमा साइकल बारे बुझ्न जादाँ म झसङ्ग परे । ३÷४ लाख पर्ने साइकल समेत हुँदो रहेछ, पहिलो पल्ट थाहा पाएँ । मैले त्यतिबेला ५५ हजारको साइकल किनेँ ।’ किनेको साइकलको मुल्य बारे साथीभाईलाई सुनाउँदा उनलाई पागल समेत भने । कोहीले त यसलाई मानसिक रोगको उपचार गराउन डाक्टरलाई देखाउनु पर्छ समेत भन्न भ्याए । सबैको एउटै गुनासो थियो, यस्तो महंगोमा नि साइकल किन्ने ? २÷४ हजार बढी थपे त सकेन्ड हेन्ड बाइक आइहाल्थ्यो नि । आज त्यही साथीभाई कुन ब्रान्डको साइकल किनौ भनेर उनलाई नै सम्झन्दा उनी गर्व गर्छन् । किनेको पहिलो साइकल प्रतिको मोह उनमा यति प्रगाढ रह्यो कि देब्रे खुट्टामा आफुसँगै त्यस साइकलको ट्याटु बनाएँ । पुष्कर शाहको अटोग्राफ दाहिने खुट्टामा बनाएर अपमान गरेको आरोप खेपेका थिए उनले । उनलाई लाग्छ, आखिर खुट्टैले त शाहले संसारलाई साढे पाँच फन्को लगाएका हुन् । यो पनि अर्को कारण बन्यो, आफ्नै तस्विरको ट्याटु बनाउनु पछि ।




उनी अझै सम्झिन्छन्, २०७१ अशोज ६ गतकोे दिन । पुष्कर शाहसँग फोनको कुरैकुरामा उनले आफू काठमाडौं देखि महाकालीसम्म साइकलमा घर जाने योजना सुनाएँ । कोही साथी पाइन्छ कि भनेर पुष्कर शाहलाई सुनाउँदा शाहले भनेछन्, ‘यो पुष्करेले त एक्लै मागेरै साइकलमा संसार डुल्यो । नेपाल त तिमी एक्लैले घुम्न सक्छौ ।’ शाहको त्यस वाक्यले उनी रन्थनिएछन् । अनि अर्को दिन बिहानै काठमाडौं हानिए उनी । त्यति बेला नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीका अध्यक्ष थिए अवस्थी । उनलाई लाग्यो, साइकल यात्रा सँगै केही सन्देशहरु बाड्न सकिए अझ उपलब्धीमुलक होला यात्रा । अनि उनको यात्रा केवल यात्रा मात्र भएन, बन्यो ‘रक्तदान सम्बन्धी जनचनताको लागि महाकाली – मेची साइकल अभियान’ ।



उनले १३ दिन लगाएर महाकाली – मेची साइकल अभियान पूरा गरे । नेपाल केही हदसम्म बुझ्ने एउटा सुनौलो अवसर बन्यो उनलाई । त्यस यात्राको एउटा घटना उनी अझै सम्झन्छन् । ‘सिमसिम पानी परेको मौसक थियो त्यस दिन । ठूलो ब्याग प्याक भिरेको थिए मैले । ब्याग माथि रेन्कोट । सकी नसकी दाउनेको अत्यासलाग्दो उकालोमा पाउदानी चलाउँदै थिए । त्यही बेला एउटा स्कुटीमा दुई जना केटीहरु आएर मेरो यात्रा बारे बुझेँ । अनि हाई हेल्लो सँगै मलाई हौसला पनि दिए । पछि त दाउने बजारमा मलाई नै पर्खेर बसेका रहेछन् उनीहरु । फलफुल अनि चकलेटहरु मात्र दिएनन् उनीहरुले, बाटामा खर्च गर्न भनेर हजार रुपियाँ पनि हातमै थमाइदिए । जानै लाग्दा अटोग्राफ समेत मागे । अरुको अटोग्राफ माग्दै हिँड्ने मजस्ताले अटोग्राफ दिने ? मलाई पत्यार लागेको थिएन । उनीहरुको नाम र ठेगाना मैले त्यतिबेला टिप्नै बिर्से तर उनीहरुको तस्वीर अझै मेरो मनमा ताजै छ ।’







यतिमै सीमित भएन उनको साइकल यात्रा । थपिदै गए उनको नेपाल बुझ्ने सपनाहरु । अनि रोकिएनन्, नेपालको कुनाकन्दरा टेक्ने हुटहुटी । त्यसपछि उनले साइकलमै घलेगाउँ, बन्दीपुर, दामन, ढोरपाटन, लुम्बिनी, सिन्धुली, डडेलधुरा, मिलेनियम ट्रेक, धरान टु सिक्किम यात्रा गरिसकें । रक्तदान सम्बन्धी जनचेतनाका कै लागि साइकलमै पुगेँ, नेपालकै पहिलो पर्यटकीय ग्रामीण गाउँ सिरुबारी । फुर्सद मिलिहाल्यो कि उनी पोखरा छेउछाउको डाँडा उक्लिहाल्छन् । अहिले पनि हरेक दसैंमा घर (कञ्चनपुर) प्राय साइकलमै पुग्छन् उनी ।



वातावरण मैत्री साइकलले स्वास्थ्य, वातावरण र पर्यटनमा पु¥याउने लाभ बारे उनले जति बुझे त्यति अरुलाई बुुझाउँछन् । साइकलमा जहाँ जहाँ पुग्छन्, त्यहाँ साइकल चढ्न सबैलाई प्रेरित गर्छन उनी । पोखरा जस्तो पर्यटकीय शहरमा साइकल लेन बनाएर नेपालकै पहिलो साइकलमैत्री सहर बनाउनु पर्नेमा उनी जोड दिन्छन् । अनि उठाउँछन् साइकलबाटै विभिन्न समसामयिक विषयका आवाजहरु । अध्ययन अनुसार एक लिटर पेट्रोल खपत हुदाँ सात वटा रुख बराबरको अक्सिजन उपयोग गर्छ । युवा जमातमा साइकल प्रतिको मोह जगाउन नितान्त जरुरत छ, उनले भने, ‘१० वा १२ पढेका आफ्ना छोराछोरीलाई बाइक वा स्कुटी किनिदिने हाम्रो चलन नै रहेको छ, यसको सट्टा साइकल किन्न प्रेरित गराउने टे«न्ड नेपालमा बसाल्न जरुरी छ । बरु बाइक वा स्कुटी किन्ने पैसालाई बैकंमा राखी ब्याजले त्यही छोराछोरीको उच्च शिक्षाको जोह गर्न सकिन्छ ।’ उनले थपे, ‘हामी जस्ता युवाले बाइकका लागि पेट्रोल किन्ने पैसाले घरमा हरेक महिना २÷३ वटा खाना पकाउने ग्यास किन्न परिवारलाई मद्दत गर्न सक्छौं । त्यसैले अनावश्यक घुम्नका लागि पेट्रोलको पम्ममा लाइन लागेनौं भने कुनै एम्बुलेनसले कसैको ज्यान बचाउन सक्ला, कोही आफ्ना गन्तव्यमा पुग्न सक्छन् ।’



विश्वभर साइकलमा यात्रा गर्न सहज पु¥याउन मद्दत गर्ने मोबाइल याप हो ‘वामसाओर’ । यसैबाट उनले धेरै देशका साइकलिस्टहरु आफ्नै कोठामा सित्तैमा बस्ने खाने व्यवस्था मात्र मिलाएका छैनन्, पोखरा वरपरका डाँडाहरुबाट हिमाल देखाउँदै पोखरा चियाउन मद्दत गर्छन् । विश्वभर साइकलको के्रज र टे«न्ड उनीहरुमार्फत बुझ्न सकिने कुरा बताउँदै उनले भने, विश्व साइकलमै घुम्न निस्कनेहरु वास्तवमै खुला पुस्तक हुन्, उनीहरुले जसरी अरु कसले विश्वको नाडी छामेका हुन्छन् र ? पोखरामा आउने पर्यटकको स्टे लम्बाउन साइकल पर्यटनमा जोड दिनुपर्छ भन्दै उनले थपे, ‘पोखरा वरपरका डाँडामा साइकल ट्रयाक बनाउन जरुरत छ । फेवा टु बेगनास जोड्ने रुट होस् वा गुप्तेश्वरी टु महेन्द्र गुफा । यस्तै तालदेखि ताल होस् वा केभ टु केभ साइकल ट्रयाक बनाएर पोखरालाई साइकल हव बनाउनु पर्छ ।’








अवस्थी सामान्य कार्यहरु असामान्य तरिकाले गर्ने एक सामान्य मानिस हुन् । बस्, फरक छ उनको जीवन जिउने तरिका । फरक छन् उनले देखेका सपनाहरु । अवस्थी जस्ता मानिसहरु समाजको लागि अझै धेरै जन्मिनु पर्छ । अनि बल्ल जन्मिन्छ, एउटा सभ्य समाज । सबैलाई साइकल चढेर स्वस्थ रहेर समय समयमा रक्तदान गर्न प्रेरित गर्दै उनले गफगाफको बिट मार्दै भने, ‘पोखरामा मात्र हैन, नेपालकै जुनसुकै कुनामा रक्त अभाव भए ९८५१२२३९०२ मा फोन गनुस्, रगत नपाएर म कसैलाई मृत्यु हुन नदिने संकल्प गर्छु ।’

No comments:

Post a Comment

साइकले रक्तदाता अवस्थी

चैत्र १३ गते , लकडाउनको तेस्रो दिन । उनी खाना खाएर सुत्ने तर्खरमा थिए । राति १० बजे फोन आयो उनलाई । जन्मेर चार दिन भएको बच्चालाई जन्डिस भएका...